हावाहुरीले घर र विद्यालयमा क्षति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १७, बिहीबार ०९:३९

पाँचथर । हावाहुरी र वर्षाले पाँचथरका विभिन्न स्थानमा दर्जनभन्दा बढी घर तथा विद्यालयमा क्षति पुर्‍याएको छ । बुधबार साँझ करिब ५ बजेतिर चलेको तीव्र हावाहुरीका कारण फिदिम नगरपालिका, हिलिहाङ गाउँपालिका, फालेलुङ र याङवरक क्षेत्रमा भौतिक संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीका अनुसार हावाहुरीले घरका छाना उडाउने र काठका संरचना भत्काउनेदेखि भित्र राखिएका सामानमा क्षति पुर्याएको छ । यद्यपि, घटनामा कुनै मानवीय वा चौपाया क्षति भने भएन ।

Advertisement

फिदिम नगरपालिका–१ शनिबारेस्थित टीकाराम भट्टराईको दुईतले घरको टिनको छानो हावाहुरीले उडाएको छ । घरमै सञ्चालन हुँदै आएको किराना पसलमा समेत क्षति पुगेको छ ।

अन्नपात, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्रीहरू नोक्सान हुँदा करिब १ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रभावित परिवार हाल अस्थायी रूपमा सोही स्थानमा पाल टाँगेर बस्न बाध्य भएको छ ।

त्यस्तै, फिदिम नगरपालिका–१ कै किराँत चोकमा मदनकुमार नेम्वाङको पक्की घरको माथिल्लो तलामा लगाइएको टिनको छानो र काठका संरचना हावाहुरीले उडाउँदा करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको छ । १२ सदस्यीय परिवार भने तल्लो तलामा सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको हिलिहाङ गाउँपालिका–२ कुवापानी टोलमा पनि केही घरमा क्षति पुगेको छ । यस्तै, फिदिम नगरपालिका, फालेलुङ र याङवरक गाउँपालिकाका विभिन्न वडामा पनि हावाहुरीले घर, विद्यालय र अन्य भौतिक संरचनामा ठूलो असर पारेको स्थानीय प्रशासनले जनाएको छ ।

घटनापछि स्थानीय प्रशासन र प्रहरी टोली प्रभावित क्षेत्रमा पुगेर क्षतिको विवरण संकलन तथा आवश्यक समन्वय गरिरहेको छ । क्षतिको पूर्ण विवरण संकलन भइरहेको र थप मूल्यांकनपछि विस्तृत तथ्यांक सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.