देशभर पानी पर्ने सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १८, शुक्रबार ०६:५५

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु र पूर्वी क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको संयुक्त प्रभाव कायम रहेकाले देशभरको मौसम अस्थिर बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यही प्रणालीका कारण आज (शुक्रबार) सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । हालको अवस्थाअनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा बादल लागेको छ भने देशका हिमाली र पहाडी भू–भागमा मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ ।

तराईका केही क्षेत्रमा भने आंशिक बदलीको अवस्था छ । शुक्रबार दिउँसो पनि मौसम पूर्णरूपमा सुधार हुने संकेत देखिएको छैन । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा पनि यस्तै अवस्था रहने महाशाखाले जनाएको छ । तराईका क्षेत्रहरूमा भने आंशिक बदली रहने अनुमान गरिएको छ ।

विशेषगरी कोशी र मधेश प्रदेशका साथै देशभरका हिमाली र पहाडी क्षेत्रका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशको तराईमा समेत एक–दुई स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।

उच्च हिमाली क्षेत्रमा भने वर्षासँगै हल्का हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ । पर्वतीय क्षेत्रमा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

राति पनि धेरै फरक हुने देखिँदैन । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा बदली कायम रहनेछ भने अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि मौसम बदली रहनेछ । तराईका क्षेत्रमा भने आंशिक बदली रहने सम्भावना छ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित वर्षा हुने अनुमान छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेषगरी चट्याङ र वर्षाका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.