
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २५७०औँ बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बौद्ध धर्मावलम्बी तथा नेपाली दाजुभाइ–दिदीबहिनीलाई शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले शान्तिका दूत गौतम बुद्धका उपदेश र मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले बुद्धका शिक्षालाई आत्मसात् गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिने उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले बुद्ध जन्मिएको भूमि नेपाल हुनु सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको बताउँदै बुद्धका कालजयी उपदेशले मानव जीवनमा शान्ति, सुख र समृद्धि ल्याउने उल्लेख गरेका छन् । उनले बुद्ध जयन्तीले विश्व समुदायलाई शान्ति, सहअस्तित्व र पारस्परिक सम्मानको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास पनि व्यक्त गरेका छन् ।
राष्ट्रपतिले बुद्धका शिक्षाले समाजमा शान्ति र एकताको भावना अझ मजबुत बनोस् भन्ने कामना समेत गरेका छन् ।



















