
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले समाज र राष्ट्रको यात्रा सधैं समस्या समाधानतर्फ उन्मुख हुनुपर्ने बताएका छन् ।
बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै उनले मानव जीवनका दुःख र त्यसको समाधानको मार्गबारे गहिरो सन्देश दिएका हुन् । उनले गौतम बुद्धको शिक्षालाई उद्धृत गर्दै दुःखको अस्तित्व, त्यसका कारण, निवारण र निवारणको मार्गबारे स्पष्ट व्याख्या गरेका छन् ।
बुद्धले देखाएको मार्ग नै मानव जीवनलाई अन्धकारबाट उज्यालतर्फ लैजाने बाटो भएको उल्लेख गर्दै शाहले ज्ञानको प्रकाशले अन्धकार स्वतः हट्ने धारणा व्यक्त गरेका छन् । उनले समाजको समग्र विकासका लागि चेतना, ज्ञान र सकारात्मक सोच आवश्यक रहेको बताएका छन् ।
‘हाम्रो यात्रा ज्ञानको उज्यालो खोज्ने र समस्या समाधान गर्ने दिशामा केन्द्रित हुनुपर्छ,’ भन्दै उनले सबैलाई बुद्धको मार्ग पछ्याउँदै शान्ति र सहअस्तित्वको संस्कार विकास गर्न आह्वान गरेका छन् । उनले नेपाललाई बुद्ध जन्मभूमिको रूपमा स्मरण गर्दै यो भूमि सधैं अहिंसा, शान्ति र मानवताको पक्षमा उभिँदै आएको बताए ।
विश्वभर शान्तिको सन्देश फैलाउन बुद्धका शिक्षाहरू अझ सान्दर्भिक रहेको उल्लेख गर्दै उनले विश्वशान्तिको कामना पनि व्यक्त गरेका छन् । त्यसैगरी उनले ‘साँचो क्रान्ति’ को परिभाषा ज्ञानसँग जोड्दै परिवर्तनको आधार चेतनामा निहित हुने धारणा राखेका छन् ।
‘क्रान्ति अक्षर ‘क’ बाट होइन, ‘ज्ञ’ अर्थात् ज्ञानबाट सुरु हुन्छ,’ भन्ने उनको भनाइले समाज रूपान्तरणमा बौद्धिक विकासको महत्व झल्काएको छ ।



















