
कालिकोट । एघार वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति : फर्किंदा दुःखको अन्धकार सदा हटेको छ । उनीको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्न विकले आठ वर्षदेखि उज्यालोसँग साक्षात्कार गर्ने अवसर गुमाएकी थिइन् । उनले चाँडै पुनःआँखाको ज्योति पाउँछु भन्ने कल्पना पनि थिइनन् ।
बाल्यकालमै लागेको चोट (ट्रमा)का कारण दाहिने आँखाको दृष्टि पूर्णरूपमा उनले गुमाएकी थिइन् । अन्यत्रका साहारामा लिनुपर्दा उनीलाई आर्थिक अवस्था कमजोर, स्वास्थ्य सेवाको पहुँच टाढा र अभिभावकको सीमित उपस्थितिका कारण समयमै उपचार सम्भव हुन सकेको थिएन । उनका बुबा रोजगारीका लागि भारतमा रहने भएकाले परिवारको जिम्मेवारी पनि सहज थिएन । यस्तो अवस्थामा उनी उपचारको आशा नगरी बसिरहेकी थिइन् ।
यही वैशाख १४ देखि १६ गतेसम्म जिल्ला आँखा उपचार केन्द्रमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरले उनको जीवन नै बदलिदिएको छ ।
शिविरमा सहभागी भएपछि गरिएको शल्यक्रिया सफल भएसँगै उनले पुनः उज्यालो संसार देख्न पाएकी छन् । शल्यक्रियापछि उनको अनुहारमा देखिएको खुसी र उत्साहले त्यहाँ उपस्थित सबैलाई भावुक बनाएको थियो । जुम्लामा सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरले उनी जस्तै धेरै बिरामीको जीवनमा नयाँ आशा ल्याएको छ ।
उक्त शल्यक्रिया वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. हरि बिक्रम अधिकारीको नेतृत्वमा गरिएको हो । बालिकाको अवस्था जटिल भए पनि सफल शल्यक्रियापछि दृष्टि फर्किनु चिकित्सकीय हिसाबले महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।



















