
काठमाडौं । नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक सक्रिय न्यून चापीय क्षेत्रको प्रभाव कायमै रहेको छ ।
जसका कारण देशभर मौसम बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) सातै प्रदेशमा वर्षा, चट्याङ, हावाहुरी र असिनाको सम्भावना छ ।
हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो पहाडी र हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराईका अधिकांश स्थानमा आंशिक बदली रहने सम्भावना छ । हिमाली तथा पहाडी भू–भागका केही स्थानमा र मधेश तथा कोशी प्रदेशको तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ ।
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ । राति देशभर बदली अझ बढ्ने अनुमान गरिएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
लुम्बिनी प्रदेशका पहाडी जिल्लाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
























