
काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न भागमा खसेको पहिरोका कारण मुख्य राजमार्ग र महत्वपूर्ण सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
प्रहरीका अनुसार आइतबार बिहान ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठानको सरुमारानी गाउँपालिका–४ खहरे खोलामा पर्ने भालुवाङ–प्युठान सडकखण्ड, मकवानपुरको भीमफेदी–८ भरेङडाँडास्थित कान्तिलोकपथ तथा लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरे भञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका हुन् ।
यसअघि वैशाख १६ गते खसेको पहिराका कारण सिन्धुपाल्चोकको भोटेकोसी–२ कोदारीस्थित अरनिको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । यस्तै, वैशाख १२ गतेको बाढीले अवरुद्ध बनाएको भोजपुर–५ बोखिम खण्डको मध्यपहाडी लोकमार्ग र वैशाख १६ कै पहिराले अवरुद्ध बनाएको म्याग्दीको अन्नपूर्ण–३ जलथलेस्थित बेनी–जोमसोम सडक भने एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।
प्रहरीले वर्षायाममा बाढी र पहिरोको जोखिम उच्च हुने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । अवरुद्ध सडक खुलाउने प्रयास जारी रहे पनि निरन्तरको वर्षाले कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

























