
काठमाडौं । आन्तरिक उडान सञ्चालन गरिरहेका निजी वायुसेवा कम्पनीहरूले हवाई इन्धनको मूल्य अत्यधिक बढेपछि सेवा नै बन्द गर्नुपर्ने अवस्था आउन लागेको चेतावनी दिएका छन् ।
वायुसेवा सञ्चालक संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेललाई पत्र लेख्दै तत्काल राहत र सहुलियतको व्यवस्था गर्न आग्रह गरेको हो । संघका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय परिस्थितिका कारण इन्धन मूल्य निरन्तर बढ्दा उडान खर्च असामान्य रूपमा वृद्धि भएको छ ।
यससँगै पर्यटक आगमनमा कमी आउँदा कम्पनीहरूको आम्दानी घटेको र दैनिक सञ्चालन नै कठिन बन्दै गएको उल्लेख गरिएको छ । हाल कम्पनीहरूको कुल खर्चमध्ये ५५ देखि ६० प्रतिशत हिस्सा इन्धनमै खर्च हुने गरेको बताइएको छ ।
संघले नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत लाग्ने ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायत विभिन्न शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिन माग गरेको छ । साथै, विमानस्थल सेवा शुल्क दर घटाउन र अमेरिकी डलरमा लिइँदै आएको शुल्कलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्न पनि आग्रह गरिएको छ ।
वायुसेवा कम्पनीहरूले वर्तमान संकट समाधानका लागि आयकरमा विशेष छुटको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउँदै सरकारले तत्काल कदम नचाले उडान सेवा प्रभावित हुने चेतावनी दिएका छन् ।

























