रास्वपा सचिवालय बैठकका ५ निर्णय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २०, आइतबार १९:२१
रास्वपा सचिवालय बैठकका ५ निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले आगामी स्थानीय तहको निर्वाचन र समसामयिक जनजीविकाका सवालमा महत्त्वपूर्ण ५ वटा निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले उम्मेदवार छनोटको नयाँ विधि पारित गर्नुका साथै अव्यवस्थित बसोबासको समस्या समाधानका लागि सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि  ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा २०८३’ लाई पारित गरेको छ। उक्त कार्यविधिलाई अक्षरशः र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा एक विशेष समिति समेत गठन गरिएको छ । यो समितिले पार्टीको नयाँ मापदण्ड अनुसार योग्य उम्मेदवार चयन गर्ने प्रक्रियाको नेतृत्व गर्नेछ।

यस्तै, बैठकले अव्यवस्थित बसोबास र भूमिहीनको समस्यालाई गम्भीरतापूर्वक लिँदै सरकारलाई विशेष सुझाव दिने निर्णय गरेको छ। ‘वास्तविक भूमिहीनको समस्या समाधान गर्न सरकारले अधिकार सम्पन्न प्राधिकरण गठन गर्नुपर्छ र उक्त प्राधिकरणको प्रतिवेदन नआउन्जेलसम्म कुनै पनि कारबाही वा हटाउने काम अघि बढाउनु हुँदैन,’ प्रवक्ता झाले बैठकको निर्णयबारे जानकारी दिँदै भने ।

पार्टीले भूमिहीन र सुकुम्वासीका समस्यालाई प्राविधिक र मानवीय संवेदनशीलताका आधारमा समाधान गर्न जोड दिएको छ । रास्वपाले यी निर्णयहरू मार्फत आगामी निर्वाचनको सांगठनिक तयारी र जनसरोकारका मुद्दामा आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको हो ।
निर्णयहरू
१. मुलुकभर विद्यमान अव्यवस्थित बसोबासलाई सम्बोधन गर्न सरकारले चाँडै नै यस सम्बन्धी अधिकार सम्पन्न प्राधिकरण गठन गरी वास्तविक भूमिहीनहरूको समस्या समाधान गर्न जोड दिएको हुनाले विभिन्न त्रासको शंकामा नपर्न अनुरोध गर्दै असुरक्षित रूपमा बस्न बाध्यहरूलाई सुरक्षित गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको प्राथमिकता रहेको र राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रको बुँदा नं । ८२ मा नै यसलाई व्यवस्थित गर्ने कुरा उल्लेख भएकाले असुरक्षित रूपमा बसोबास गर्दै आउनुभएका भूमिहीन सुकुम्वासी नागरिकहरूको हकमा बाहेक अन्यहरूमा प्राधिकरणको प्रतिवेदन पूर्व कुनै पनि कारबाही अगाडि नबढ्ने कुराको जानकारी गराउँदै सरकारलाई सोही अनुरूप गर्न सुझाव दिने।

साथै स्थानीय सरकारहरूले आफ्नो क्षेत्राधिकारको प्रयोग गरी संरचनाहरू भत्काइरहेको सन्दर्भलाई समेत ध्यानमा राखी स्थानीय सरकारलाई पनि यही मर्म अनुरूप व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अनुरोध गर्ने ।

२. आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीका उम्मेदवार छनोट गर्ने विधि “स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा २०८३” लाई पारित गर्दै उक्त रूपरेखालाई अक्षरशः र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा “उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति” गठन गर्ने ।

३. पार्टीको संसदीय दलको संशोधित विधान अनुमोदन गर्ने ।

४. पार्टीको ऐतिहासिक प्रथम महाधिवेशन सम्पन्न गर्न “महाधिवेशन कार्यविधि–२०८३” पारित गर्ने ।

५. पार्टीको बागमती प्रदेश समितिको सिफारिस बमोजिम रसुवा जिल्ला समिति विघटन गरी नयाँ प्रक्रियाबाट समिति गठन गर्ने।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.