विराटनगर जुट मिल्सका कर्मचारीले ३ करोड पाउन बाँकी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २१, सोमबार १८:२९

विराटनगर । विराटनगर जुट मिल्स लिमिटेडका कर्मचारीहरूले पारिश्रमिक भुक्तानीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । वर्षौँदेखि पसिनाको मूल्य नपाएपछि ४६ जना कर्मचारीहरूले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सम्बोधन गरिएको ज्ञापन पत्र बुझाउँदै कर्मचारीहरूले झण्डै ३ करोड २ लाख १३ हजार ९२३ रुपैयाँ बराबरको बक्यौता रकम तत्काल उपलब्ध गराउन माग गरेका छन् ।

Advertisement

मिल्समा कार्यरत विभिन्न तहका ४६ जना कर्मचारीहरूले २०७३ साल जेठ १ गतेदेखि २०७७ साल मंसिरसम्मको पारिश्रमिक पाएका छैनन् । यस विषयमा श्रम कार्यालय मोरङले २०७६ पुस १८ गते नै कर्मचारीहरूको पक्षमा फैसला सुनाउँदै पारिश्रमिक भुक्तानी गर्न आदेश दिएको थियो । तर,अदालतको फैसला र उद्योगको साधारण सभाले समेत अनुमोदन गरिसके पनि कर्मचारीले तलब पाएका छैनन ।

‘हामीले लामो समयदेखि आफ्नो पसिनाको मूल्य पाएका छैनौँ,’ प्रशासन अधिकृत तारानाथ तिमिल्सिनाले भने,‘श्रम कार्यालयको फैसला र २०८१ चैत २१ गते सम्पन्न जुट मिल्सको साधारण सभाले समेत उक्त रकमको अनुमोदन गरिसक्दा भुक्तानी भएको छैन ।’

जुट मिल्सका जनसम्पर्क इन्चार्ज योगबहादुर सुब्बा, लेखा अधिकृत श्यामकुमार लामा र प्रशासन अधिकृत तिमिल्सिनासहितको टोलीले ज्ञापन पत्र बुझाउँदै माग पूरा नभए थप कानुनी र सडक सङ्घर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.