
विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को निर्वाचन क्षेत्रका सुकुमवासी पनि सडकम आन्दोलनमा उत्रिएका छन् । सरकारले काठमाडौँसहित देशका विभिन्न स्थानका सुकुमवासी बस्तीमा डोजर चलाएपछि प्रधानमन्त्री शाहको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा पर्ने कमल गाउँपालिकाका मतदाता सडकमा उत्रिएका हुन् ।
भूमि अधिकार तथा श्रमिक संगठनको अगुवाइमा झापाको कमल गाउँपालिकामा रहेका भूमिहीन तथा सुकुमवासीले प्रदर्शन गरे । उनीहरूले गाउँपालिका कार्यालय पुगेर ज्ञापनपत्र पनि बुझाएका छन् ।
सरकारले काठमाडौँसहित देशका विभिन्न स्थानमा सुकुम्वासी बस्तीमा डोजर चलाएर उठीबास लगाउने काम गरेको भन्दै उनीहरू विरोधमा उत्रिएको उनीहरुले बताए ।
कमल गाउँपालिकाको विभिन्न स्थानबाट सहभागी भएका भूमिहीन, सुकुम्वासी तथा श्रमिकले आफ्नो बसोबासको अधिकार सुनिश्चित गर्नुपर्ने, वैकल्पिक व्यवस्थाविना बस्ती हटाउन नहुने र भूमिहीन नागरिकलाई राज्यले सम्मानजनक जीवन यापनको ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन् । गाउँपालिकाको कार्यालयमा पुगेर उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीलाई ज्ञापनपत्र बुझाएको संगठनका अध्यक्ष दिपक गौतमले बताए ।
यसअघि धरान, पथरी तथा इटहरीमा सुकुम्वासीले प्रदर्शन गरेका थिए। उनीहरूले तत्काल राज्य आतंक बन्द गर्नु पर्ने माग राखेका थिए ।



















