केही स्थानमा वर्षाको सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २२, मंगलबार ०६:२२

काठमाडौं । पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भू–भाग नजिक बनेको न्यूनचापीय प्रणालीका कारण आज (मंगलबार) देशका विभिन्न स्थानमा वर्षाको सम्भावना देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिनभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ । दिउँसो विशेषगरी पहाडी र हिमाली भू–भागमा बदली बढ्नेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने बताइएको छ ।

Advertisement

कोशी र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा भने हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली कायम रहनेछ । यी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

अन्य प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार केही स्थानमा भारी वर्षा भएको उल्लेख गर्दै महाशाखाले मंगलबारको सम्भावित मौसमको अवस्थालाई ध्यानमा राखेर सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.