रोशीमा फसेका ८९ यात्रुको उद्धार, पाँच जना चालक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २२, मंगलबार ०६:३४

काभ्रे । काभ्रेपलाञ्चोकमा अविरल वर्षापछि बढेको रोशी खोलाको बहावका कारण बीच धारमै फसेका ८९ यात्रुहरूको सकुशल उद्धार गरिएको छ । सोमबार साँझदेखि परेको लगातार वर्षाले खोलाको पानी एक्कासि बढेपछि पाँचवटा माइक्रोबस खोलाको बीच भागमै अड्किएका थिए ।

ती सवारीसाधनमा रहेका यात्रुहरू जोखिममा परेपछि नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीले उद्धार अभियान सञ्चालन गरेको थियो । मंगलबार बिहानका राति करिब १ बजेतिर सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको प्रहरीले जनाएको छ । उद्धारपछि उनीहरूलाई गन्तव्यतर्फ पठाइएको छ । घटनामा कुनै मानवीय क्षति हुन पाएन ।

Advertisement

प्रहरीका अनुसार उद्धार कार्यका क्रममा सुरक्षाकर्मीहरूले खोलाको बहाव उच्च रहेको भन्दै सवारी सञ्चालन नगर्न निर्देशन दिएका थिए । तर, चालकहरूले उक्त निर्देशन बेवास्ता गर्दै सवारी अघि बढाउँदा यात्रुहरूको ज्यान जोखिममा परेको देखिएको छ । यही लापरवाहीका कारण पाँचवटा माइक्रोबसका चालकहरूलाई नियन्त्रणमा लिइएको छ ।

हाल ती चालकहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । घटनापछि प्रहरीले वर्षायाममा खोलानाला तथा जोखिमयुक्त क्षेत्र पार गर्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.