
विराटनगर । विगतमा वर्षाहरुमा आकाश गडगडाउँदा विराटनगर–१२, मनलवाका ऋषिदेव समुदायको मुटु काम्थ्यो । नजिकैको खोलामा पानीको सतह बढ्नेबित्तिकै घर छाडेर अन्यत्र सर्नु पर्थ्यो । हिजोसम्म खोलाको बगर र सुकुम्वासीको परिचय बोकेका १४५ परिवार आफ्नै घरको मालिक बनेका छन् ।
मनलवाका ८५ सुकुम्वासी परिवार नयाँ घरमा सरिसकेका छन् । बाँकी ६० परिवार पनि आफ्नै घर पाउने पर्खाइमा छन् । उनीहरुको घर धमाधम निर्माण भइरहेको छ ।
सरकार, निजी संस्था र स्वयं समुदायबीचको बलियो साझेदारीले सुकुम्वासीका लागि नमुना बस्ती निर्माण भएको हो । प्रदेश सांसद तथा पूर्वमुख्यमन्त्री केदार कार्कीकाे सक्रियतामा विराटनगर महानगरपालिकाले सुरु गरेको सम्पन्न वस्ती जीवन विकास लघुवित्त वित्तीय संस्थाको महत्वपूर्ण सहयोग छ । सहारा नेपाल र ह्याविट्याट नेपालले पनि सहयोग गरेका छन् । यो वस्तीमा रहेका सबै सुकुम्वासी परिवारले १० धुर जग्गा आफैं किनेका छन् । दाताले बस्तीमा एकै किसिमको घर निर्माण गरिदिएका छन् ।
परियोजनामा एउटा घर बनाउन करिब ६ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । यहाँका घरहरू परम्परागत इँटाका मात्र छैनन्,ह्याविट्याट नेपालको प्राविधिक सहयोगमा ट्रिटमेन्ट गरिएको बाँस र सिमेन्टको प्रयोग गरी बनाइएका छन् ।
सुकुम्वासी समस्याको दिगो समाधानका लागि प्रतिपरिवार १० धुर जग्गा उपलब्ध गराउन जीवन विकास लघुवित्तले सस्तो ब्याजमा ऋण दिएको थियो । ह्यावीटाट र महानगरले घर निर्माणमा सहयोग गरेका छन् । प्रदेश सरकारले पनि घर निर्माणमा सहयोग गरेको छ ।
वस्तीका घरहरूमा व्यवस्थित शौचालय र स्नानगृह छन् । बस्तीभित्र बालबालिकाका लागि खेल्ने मैदान, वृद्धवृद्धाका लागि विश्रामस्थल र सामूहिक छलफलका लागि सामुदायिक भवन समेत निर्माणको चरणमा छ । घरका छानाहरू टिनले टल्किएका छन् भने आँगनमा खानेपानी र बिजुलीको सुविधा पुगेको छ ।
विराटनगर महानगरपालिकाले यो मोडेललाई मनलवामा मात्र सीमित राखेको छैन । महानगरका अनुसार वडा नं ५ मा १०० परिवार र वडा नं १९ मा ६० सुकुम्वासी परिवारका लागि सरकारी जमिनमै यस्तै एकीकृत बस्तीहरू निर्माण गरेको छ ।



















