
विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा ट्रकसँग तीन जना सवार मोटरसाइकल ठोक्किँदा एक जना युवकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
प्रदेश १–०१–००१ ख ४३०३ नम्बरको ट्रकलाई को १० प ८१२८ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्ने क्रममा मंगलबार बिहान ११ः४० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार ‘ओभरटेक’ गर्ने क्रममा मोटरसाइकल ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ का २० वर्षीय अनिष बुढाथोकीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएको जानकारी न्यौपानेले दिए । उनका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुन्दरहरैँचा–७ का १९ वर्षीय आषिक विक र मोटरसाइकलकै पछाडि सवार सुन्दरहरैँचा–७ का १८ वर्षीय हरिबहादुर विक घाइते भएका छन् ।
सामान्य अवस्थाका घाइतेहरुको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै प्रहरीले ट्रक र चालक सुनसरीको दुहबी नगरपालिका–८ का २३ वर्षीय रोकश खड्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।



















