शेखर गोल्छाले हिरासतमा बस्न नपर्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २२, मंगलबार १६:५०

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै गरिएको म्याद थपको माग अस्वीकार गरेको छ ।

न्यायाधीश मोना सिंहको इजलासले उनीमाथि हालको अवस्थामै हिरासत आवश्यक नरहेको निष्कर्ष निकाल्दै म्याद थप गर्न नपर्ने आदेश दिएको हो । अदालतको आदेशसँगै अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई हिरासतमा नराखी अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने भएको छ ।

Advertisement

अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को प्रावधान उल्लेख गर्दै हिरासतमा राखेर अनुसन्धान गर्ने अवस्थाको पर्याप्त आधार नदेखिएको स्पष्ट पारेको छ । आदेशमा भनिएको छ, ‘प्रतिवादीलाई थुनामा राखी अनुसन्धान गर्नुपर्ने अवस्थाको विद्यमानता पुष्टि नभएकाले म्याद थप गर्न नमिल्ने निष्कर्षमा अदालत पुगेको हो ।’

यस मुद्दासँग सम्बन्धित अनुसन्धान प्रक्रिया र हिरासत व्यवस्थापनबारे सर्वोच्च अदालतले पनि प्रश्न उठाइसकेको छ । सोमबार मात्र सर्वोच्च अदालतले धितोपत्र कसुरको अनुसन्धानका क्रममा धरौटी र जमानतको विकल्प हुँदाहुँदै किन थुनामा राखेर अनुसन्धान अघि बढाइएको हो भन्ने विषयमा चासो व्यक्त गरेको थियो ।

सर्वोच्चले त्यसै मुद्दासँग जोडिएको बीमासम्बन्धी कसुरबारे भने रिट निवेदनमा स्पष्ट माग नभएकाले विस्तृत टिप्पणी नगरे पनि अनुसन्धान प्रक्रियामाथि उठेका प्रश्नहरूलाई संकेत गरेको थियो । यसबीच, सीआईबीले गोल्छालाई सुरुमा धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको बताएको थियो । तर, पछि बीमासम्बन्धी कसुर पनि जोडिएको भन्दै अनुसन्धानको दायरा परिवर्तन भएपछि उनलाई हिरासतमा राख्ने विषयमा थप कानुनी प्रक्रिया अघि बढाइएको थियो ।

जिल्ला अदालतको पछिल्लो आदेशसँगै अब उनले हिरासतमा बस्न पर्ने छैन । उनलाई हिरासतमा नराखी अनुसन्धान अघि बढाउनुपर्ने भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.