घरघरमा पुग्न थाल्यो सरकारी कागजात

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २२, मंगलबार १८:११

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यसहित सुरु गरेको सरकारी कुरियर सेवा विस्तार हुँदै गएको छ ।

हुलाक सेवा विभागका अनुसार हालसम्म १९ जिल्लामा यो सेवा सञ्चालनमा आइसकेको छ । सेवा सञ्चालनले सरकारी कागजात वितरणलाई डिजिटल र भौतिक रूपमा अझ व्यवस्थित बनाउँदै लगेको छ ।

Advertisement

गत चैत १३ गते सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत हुलाक सेवालाई आधुनिक कुरियर प्रणालीमा रूपान्तरण गर्ने योजना अघि बढाइएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्दै कार्यक्रम कार्यान्वयनमा तीव्रता दिएको छ ।

हुलाक सेवा विभागका अनुसार हालसम्म ३ हजार १३१ वटा राहदानी सम्बन्धित जिल्लामा ढुवानी गरिएको छ । तीमध्ये ६६७ वटा राहदानी सेवाग्राहीको घरमै पुर्‍याएर वितरण गरिएको छ । यसले सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयसम्म पुग्नुपर्ने बाध्यता घटाएको छ ।

राहदानीसँगै अन्य सरकारी कागजात पनि हुलाकमार्फत वितरण हुन थालेका छन् । हालसम्म २६० वटा शैक्षिक प्रमाणपत्र वितरण भइसकेका छन् । स्वास्थ्य क्षेत्रमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा १४ वटा प्रयोगशाला नमुना ढुवानी गरिएको विभागले जनाएको छ ।

यातायात क्षेत्रमा पनि ठूलो मात्रामा काम भइरहेको छ । करिब २ लाख ९६ हजारभन्दा बढी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धित कार्यालयहरूमा पठाइएको छ ।

काठमाडौं, मोरङ, कास्की, झापा, मकवानपुरलगायत १९ जिल्लामा सेवा सुरु भइसकेको छ । अन्य जिल्लामा विस्तारको तयारी भइरहेको विभागले जनाएको छ । साथै, नेपाल टेलिकमसँगको सहकार्यमा सिमकार्ड घरमै पुर्‍याउने सेवा पनि चाँडै सुरु गर्ने तयारी छ ।

हुलाक सेवा विभागले प्रणालीगत सुधार, डिजिटल ट्र्याकिङ प्रणाली विस्तार र विभिन्न निकायसँगको अन्तरआवद्धतामार्फत सेवा अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ । यससँगै हुलाक सेवा परम्परागत भूमिकाबाट अघि बढेर आधुनिक सरकारी सेवा वितरणको महत्वपूर्ण माध्यम बन्न थालेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.