
काठमाडौं । केही दिनदेखिको अविरल वर्षासँगैको बाढी र पहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गमध्ये केहीमा पुनः यातायात सञ्चालन सुरु भएको छ । केही सडक अझै पूर्ण रूपमा बन्द अवस्थामा छन् ।
प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ अन्तर्गत हाङगाङदाङ–थुकिम्बा–दोभान भित्री सडक, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी नजिक अरनिको राजमार्ग तथा मकवानपुरको भिमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा यातायात सञ्चालनमा आएको छ ।
यस्तै, भोजपुरको बोखिमस्थित मध्यपहाडी लोकमार्ग र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथले क्षेत्रको बेनी–जोमसोम सडकखण्ड एकतर्फी रूपमा खुलाइएको छ । तर, इलामको रोङ गाउँपालिका–६ सलकपुर हुँदै झापा जोड्ने भित्री कच्ची सडक, काभ्रेपलाञ्चोकको नमोबुद्ध–रोशी क्षेत्रमा पर्ने बीपी राजमार्ग खण्ड तथा लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग भने पूर्ण रूपमा अवरुद्ध छन् ।
त्यसैगरी, काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी सडकखण्डमा सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । वर्षायाममा पहिरोको जोखिम उच्च हुने भएकाले यात्रामा विशेष सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।



















