सांकेतिक तस्बिरकाठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न भागमा आज (बिहीबार) पनि मौसम बदली रहने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका केही क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी प्रदेशको हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ । अन्य स्थानमा आंशिक बदली देखिएको महाशाखाले जनाएको छ ।
बिहीबार दिउँसो हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । तराईका केही स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
बिहीबार राति पनि कोशी प्रदेशसहित हिमाली क्षेत्रमा बदली कायम रहनेछ । कोशी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ भने मधेशसहित अन्य पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसमविद्ले चट्याङ र वर्षाबाट सतर्क रहन आग्रह गरेका छन् ।



















