विदेश उपचार खर्च असुलीको माग गर्दै पूर्वभीआईपीविरुद्ध रिट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २४, बिहीबार १२:५१

काठमाडौं । राज्यकोषबाट विदेशमा गरिएको उपचार खर्च असुल गर्न माग गर्दै पूर्वविशिष्ट पदाधिकारीहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता सरोजकुमार न्यौपानेले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, झलनाथ खनाल तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाइएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार जनस्वास्थ्य ऐनविपरीत राज्यकोषबाट विदेश उपचार खर्च भुक्तानी गरिएको भन्दै उक्त रकम फिर्ता गराउन माग गरिएको हो ।

Advertisement

बिहीबार दर्ता भएको रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुने तय भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले यसअघि वैशाख १४ गते पूर्वविशिष्ट व्यक्तिहरूले विदेशमा उपचार गराउँदा राज्यले खर्च व्यहोर्ने व्यवस्था खारेज गरेको थियो ।

अदालतले ‘नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७३’ को दफा १२ (१०) संविधान र जनस्वास्थ्य ऐनसँग बाझिएको ठहर गर्दै बदर गरेको थियो । उक्त व्यवस्थाअनुसार पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, पूर्वप्रधानन्यायाधीश, पूर्वमन्त्री, पूर्वसांसद तथा अन्य संवैधानिक पदाधिकारीहरूले विदेशमा उपचार गराउँदा सरकारले खर्च बेहोर्ने अभ्यास हुँदै आएको थियो ।

२०७५ सालमा जारी जनस्वास्थ्य ऐनको दफा ३० ले भने विदेश उपचार खर्च सरकारले नबेहोर्ने स्पष्ट व्यवस्था गरेको छ । रिटमा पूर्वराष्ट्रपति रामचन्द्र पौडेललाई भने विपक्षी बनाइएको छैन । जबकि उनी पनि यस्तै प्रकृतिको उपचार खर्च विवादमा चर्चामा आएका थिए । यसअघि अधिवक्ता राधिका चम्लागाईंले दायर गरेको रिटपछि सर्वोच्चले विदेश उपचार खर्चसम्बन्धी कार्यविधि नै खारेज गरिदिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.