कोशी राजमार्गमा नयाँ उपलब्धि : खाँदबारी–किमाथांका सडकमा प्रगति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २४, बिहीबार १३:०६

संखुवासभा । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने खाँदबारी–किमाथांका सडकखण्डमा ट्र्याक ओपन तथा स्तरोन्नतिको काम सम्पन्न भएको छ ।

कठिन भौगोलिक अवस्थाबीच महत्वपूर्ण खण्डको निर्माण सम्पन्न भएर खाँदबारी–किमाथांका सडकमा ठूलो प्रगति भएसँगै कोशी राजमार्गमा नयाँ उपलब्धि थपिएको हो । उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत पर्ने १६२ किलोमिटर लामो खाँदबारी–किमाथांका सडकमध्ये १०.८ किलोमिटर खण्डमा ट्र्याक खोल्ने तथा स्तरोन्नति गर्ने काम पूरा भएको छ ।

Advertisement

आयोजनाका प्रमुख शमशेर सिंहका अनुसार अत्यन्तै चुनौतीपूर्ण भू–भागमा पर्ने यो खण्ड कडा चट्टान, उचाइ र असहज भौगोलिक संरचनाका कारण सामान्य निर्माण उपकरणले काम गर्न सक्ने अवस्थामा थिएन । उक्त सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो । मन्त्रिपरिषद्को २०७६ भदौ २२ गतेको निर्णयअनुसार रणनीतिक र संवेदनशील मानिएको यो परियोजनामा सेनालाई परिचालन गरिएको हो ।

सेनाले आवश्यक स्थानमा विस्फोटक पदार्थ प्रयोग गरी चट्टान फोर्ने, हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गर्ने तथा कठिन भू–भागमा ट्र्याक खोल्ने कार्य सम्पन्न गरेको हो । आयोजनाका अनुसार यस वर्ष मात्र सेनाले करिब दुई किलोमिटरभन्दा बढी नयाँ ट्र्याक खोल्ने र चार किलोमिटरभन्दा बढी खण्डमा स्तरोन्नति गर्ने काम गरेको छ । साथै, पहिरोले अवरुद्ध भएका केही स्थानहरूमा सफाइ तथा पुनः सञ्चालन योग्य बनाउने कार्यसमेत गरिएको छ ।

खाँदबारी–किमाथांका सडकलाई कोशी प्रदेशको उत्तरी प्रवेशद्वार मानिन्छ । यो सडक चीनसँग सीमा जोडिने किमाथांका नाका हुँदै अन्तर्राष्ट्रिय व्यापारिक मार्गको रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित निर्माण भइरहेको हो । सडक निर्माण सम्पन्न भएपछि नेपाल, चीन र भारतबीचको व्यापारिक आवागमन थप सहज र छोटो हुनेछ ।

आयोजनाले दिएको जानकारीअनुसार हालसम्म खाँदबारी–किमाथांका सडक निर्माणमा करिब ६२ करोड ३६ लाख ६७ हजार रुपैयाँ खर्च भइसकेको छ । यस वर्ष मात्र विनियोजित सात करोड रुपैयाँ बजेटमार्फत थप निर्माण तथा स्तरोन्नति कार्य अघि बढाइएको हो ।

सडकको ‘ब्रेक थ्रु’ गत २०८१ माघ १४ गते नै सम्पन्न भइसकेको थियो । त्यसपछि चरणबद्ध रूपमा ट्र्याक खोल्ने, स्तरोन्नति गर्ने र जोखिमपूर्ण स्थानमा सुरक्षात्मक संरचना निर्माण गर्ने काम भइरहेको छ । अहिले सम्पन्न १०.८ किलोमिटर खण्डलाई महत्त्वपूर्ण उपलब्धि मानिएको छ । किनभने यो खण्ड अत्यन्तै दुर्गम र प्राविधिक रूपमा जटिल मानिन्छ ।

नेपाली सेनाको प्राविधिक तथा मानवीय क्षमताका कारण कठिन भू–भागमा समेत काम अघि बढ्न सकेको आयोजनाले जनाएको छ । दैनिक करिब १४० जनशक्ति परिचालन गरी निर्माण कार्य सञ्चालन गरिएको थियो ।

सडक निर्माण सम्पन्न भएसँगै अब सेनाले उक्त खण्ड उत्तर–दक्षिण कोशी सडक आयोजनालाई औपचारिक रूपमा हस्तान्तरण गर्ने तयारी गरेको छ । हस्तान्तरणपछि बाँकी खण्डहरूको निर्माण कार्यलाई नागरिक प्राविधिक संरचनामार्फत अघि बढाइनेछ ।

स्थानीय तह र बासिन्दाले सडक विस्तारलाई अत्यन्तै सकारात्मक रूपमा लिएका छन् । उनीहरूका अनुसार यो सडक सञ्चालनमा आएपछि संखुवासभासहित कोशी प्रदेशका पहाडी जिल्लाहरूमा आर्थिक गतिविधि बढ्ने, कृषि उत्पादनको बजार पहुँच सहज हुने र पर्यटन विकासमा समेत योगदान पुग्नेछ ।

विशेषगरी किमाथांका नाका सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय व्यापार विस्तारको नयाँ ढोका खुल्ने छ । स्थानीयले सीमामा भन्सार कार्यालय स्थापना गर्नुपर्ने मागसमेत दोहोर्याउँदै आएका छन् । भन्सारले व्यापारिक गतिविधिलाई औपचारिक र व्यवस्थित बनाउन मद्दत गर्ने उनीहरूको विश्वास छ ।

सडक निर्माणसँगै यस क्षेत्रमा पूर्वाधार विकासको गति बढेको देखिएको छ । ठाउँ–ठाउँमा पहिरोको जोखिम, मौसमीय अवरोध र बाँकी खण्डको दीर्घ निर्माण प्रक्रिया जस्ता चुनौती एवं समस्या भने छन् । नेपाललाई चीनसँगको प्रत्यक्ष व्यापारिक पहुँचमा जोड्ने रणनीतिक पूर्वाधारका रूपमा खाँदबारी–किमाथांका सडकको महत्व अझ धेरै छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.