
वीरगन्ज । वीरगन्जमा त्रिभुवन राजपथ अन्तर्गत मेनरोड विस्तार कार्यविरुद्ध स्थानीय घरजग्गाधनी र व्यापारीहरूले बिहीबार मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका छन् ।
आदर्शनगर चोकदेखि घण्टाघर चोकसम्म सडकको बीच भागमै उभिएर उनीहरूले सरकार र सम्बन्धित निकायको निर्णयको कडा विरोध जनाएका हुन् ।वीरगन्ज बचाउ संघर्ष समिति र वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरूले ‘डोजर आतंक बन्द गर’, ‘सुकुम्बासी बनाउन पाइँदैन’, ‘वीरगञ्जको मेनरोडलाई सहरी मार्ग कायम गर’ जस्ता नारा लगाएका थिए ।
उनीहरूले विकासको नाममा भइरहेको संरचना भत्काउने कार्यले व्यवसाय, रोजगारी र स्थानीय जीवनमा गम्भीर असर परेको आरोप लगाए । सडक डिभिजन कार्यालय हेटौंडाले वीररगन्ज महानगरपालिकासँगको समन्वयमा गण्डकदेखि मितेरी पुलसम्मको मेनरोड क्षेत्रमा २५–२५ मिटर दायाँ–बायाँ सीमा निर्धारण गर्दै संरचना हटाउने अभियान अघि बढाएको छ ।
वैशाख ६ र ७ गते भएको डोजर कारबाहीमा करिब ८ किलोमिटर क्षेत्रमा रहेका करिब १ हजार २ सय पक्की संरचना भत्काइएको थियो । त्यसपछि बाँकी संरचना स्वयं हटाउन आग्रह गर्दै अन्यथा पुनः डोजर चलाइने चेतावनीसमेत दिइएको छ ।
तर, स्थानीय बासिन्दा तथा व्यापारीहरू भने यो कदम अव्यवहारिक र जबर्जस्ती भएको दाबी गर्दै निरन्तर आन्दोलनमा छन् । उनीहरूले वीरगन्जमा पहिले नै बाइपास सडक र ६ लेनको व्यापारिक मार्ग निर्माण भइसकेको भन्दै मेनरोडलाई २५–२५ मिटर विस्तार गर्नु आवश्यक नभएको तर्क गरेका छन् ।
संघर्ष समितिका प्रतिनिधिहरूले विकासको नाममा भइरहेको क्षति तत्काल रोक्न र मेनरोडलाई सहरी मार्गका रूपमा परिभाषित गर्न सरकारसँग माग गरेका छन् । माग सम्बोधन नभए आन्दोलन अझ सशक्त बनाइने चेतावनी पनि उनीहरूले दिएका छन् । यसअघि पनि उनीहरूले सडक अवरोध, ज्ञापनपत्र र काठमाडौंमा समेत प्रदर्शन गरिसकेका छन् ।

























