पोखरा विमानस्थल भ्रष्टाचारमा कार्कीसहित १३ जनाविरुद्ध मुद्दा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २४, बिहीबार १८:०१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट दिएर राज्यलाई अर्बौं रुपैयाँ नोक्सानी पुर्‍याएको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार दायर गरेको आरोपपत्रमा तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारी, महेश्वर न्यौपाने, तत्कालीन महानिर्देशक सञ्जीव गौतमसहित विभिन्न मन्त्रालयका सहसचिव, उपसचिव, आयोजना निर्देशक र शाखा अधिकृतलाई प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो, जरिबाना, कैद तथा थप सजायको माग गरिएको छ ।

Advertisement

अख्तियारका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङबीच भएको मूल खरिद सम्झौतामा कर, महसुल तथा अन्य शुल्क निर्माण कम्पनी आफैंले तिर्नुपर्ने व्यवस्था थियो । तर, त्यसविपरीत इम्प्लिमेन्टेसन एग्रिमेन्टमार्फत कम्पनीलाई कर छुट दिने सर्त राखिएको भेटिएको आयोगको दाबी छ ।

अनुसन्धानका क्रममा तत्कालीन अर्थमन्त्री कार्कीसहितका पदाधिकारीले बदनियतपूर्वक मूल सम्झौताको प्रावधान विपरीत कर छुट दिने व्यवस्था गराएको खुल्न आएको अख्तियारले जनाएको छ । आयोगका अनुसार त्यसबाट निर्माण कम्पनीलाई दोहोरो लाभ पुग्नुका साथै नेपाल सरकारलाई ३ अर्ब ६२ करोडभन्दा बढी हानिनोक्सानी भएको ठहर गरिएको छ ।

अख्तियारले निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङका अध्यक्ष वाङ पो र परियोजना प्रबन्धक याङ चिकाङविरुद्ध पनि मतियारको आरोपमा मुख्य कसुरदारसरह सजाय मागदाबी गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.