
काठमाडौं । भारतले नेपाललाई आवश्यक पर्ने रासायनिक मल र पेट्रोलियम पदार्थको आपूर्ति निरन्तर रहने स्पष्ट पारेको छ ।
बिहीबार भारतीय विदेश मन्त्रालयको साप्ताहिक मिडिया ब्रिफिङमा प्रवक्ता रणधीर जैसवालले नेपाल–भारत सम्बन्ध बहुआयामिक रहेको उल्लेख गर्दै मल र इन्धन आपूर्तिमा कुनै समस्या नआउने बताएका हुन् । उनले नेपाल र भारतबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थ आपूर्ति भइरहेको र आगामी दिनमा पनि निरन्तर जारी रहने बताए ।
नेपालका लागि आवश्यक पर्ने रासायनिक मल पनि सहमतिअनुसार उपलब्ध गराइने उनको भनाइ थियो । नेपालले भारतसँग रासायनिक मल खरिदका लागि सरकार–सरकार (जीटुजी) सम्झौता गरेको छ ।
पेट्रोलियम पदार्थ आपूर्तिका लागि भने इन्डियन आयल कर्पोरेसन (आईओसी) र नेपाल आयल निगमबीच लामो समयदेखिको व्यावसायिक सहकार्य रहँदै आएको छ ।



















