
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज (शुक्रबार) देशका विभिन्न क्षेत्रमा मौसम बदली रहने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली छ । तराईका भू–भागमा भने आंशिक बदली रहेको छ ।
कोशी प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी र मधेश प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ ।
कोशीसहित पहाडी र हिमाली क्षेत्रका केही स्थान तथा मधेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । केही उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ ।
राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । मधेशसहित अन्य प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ ।


















