अपार्टमेन्टमा सारिए पनि सुकुम्वासी असन्तुष्ट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २६, शनिबार १४:१६

काठमाडौं । गोङ्गबु बसपार्क क्षेत्रका होटलहरूमा बस्दै आएका सुकुम्वासी परिवारलाई नागार्जुन अपार्टमेन्टमा स्थानान्तरण गरिएको छ । तर, आधारभूत तयारी र स्पष्ट व्यवस्थापन बिना नै आफूहरूलाई सारिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् ।

करिब ४० परिवारका ९३ जनालाई शुक्रबार साँझ करिब ७ बजे अपार्टमेन्टमा लगिएको हो । कसको निर्णयमा र किन आफूहरूलाई त्यहाँ ल्याइएको भन्नेबारे कुनै स्पष्ट जानकारी नपाएको उनीहरूको गुनासो छ । उनीहरुले आफूहरुलाई सरकारले बेवास्ता गरेको गुनासो पोख्दै असन्तुष्टि जनाए ।

Advertisement

स्थानान्तरणपछि प्रारम्भिक चरणमै खानेपानीको समस्या देखिएपछि केही समय उनीहरु आक्रोशित बनेका थिए । हाल भने दैनिक प्रयोगका लागि पानीको व्यवस्था गरिएको छ भने स्थानीय तह, प्रहरी र सम्बन्धित निकायको समन्वयमा दीर्घकालीन आपूर्ति समाधान गर्ने प्रयास भइरहेको छ ।

विस्थापितमध्ये मनोहरा बस्तीका विश्वनाथ दाहालले सरकारको पहल भए पनि व्यवस्थापन व्यवस्थित नभएको बताए । उनका अनुसार समन्वय गर्ने जिम्मेवार व्यक्ति स्पष्ट नहुँदा अन्योल झन् बढेको छ । ‘हामीलाई यहाँ कति दिन राखिन्छ, कसरी व्यवस्थापन हुन्छ, खानेकुरा र अन्य सुविधा के हुन्छ भन्ने केही स्पष्ट छैन,’ उनले भने ।

परिवारमा दीर्घ रोगी पनि रहेका कारण उपचारमा थप समस्या भएको उनीहरूको भनाइ छ । दुई मिर्गौला फेल भएकी मुना खनाललाई हप्तामा दुई पटक वीर अस्पतालमा डायलासिस गर्नुपर्ने बाध्यता छ । आर्थिक रूपमा कमजोर अवस्थामा रहेकाले ट्याक्सी खर्चसमेत धान्न कठिन भएको उनले बताइन् ।

हालसम्म एम्बुलेन्सको व्यवस्था गरिएको भए पनि त्यो निरन्तर रहने वा नरहने बारेमा अनिश्चितता रहेको उनीहरू बताउँछन्। खोला किनारको घरसमेत गुमेपछि आफूहरूसँग अब कुनै सुरक्षित आधार नरहेको पीडितहरूको भनाइ छ ।

सरकारले जसरी हटायो, त्यसरी नै व्यवस्थित पुनर्स्थापना गर्नुपर्ने उनीहरूको माग छ । आफ्नै नाममा जमिन, स्पष्ट योजना र दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गर्न उनीहरूले सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.