लिपुलेकको असरले मिस्रीको भ्रमण स्थगित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २६, शनिबार १४:५३

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएको छ । वैशाख २८ गतेका लागि तय गरिएको भनिएको भ्रमण अनौपचारिक तयारीमै थियो । तर अन्ततः रोकिएको छ ।

उनी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन काठमाडौं आउने तयारीमा थिए । परराष्ट्र मन्त्रालयले यसअघि भ्रमणबारे औपचारिक जानकारी नभएको बताए पनि दुवै पक्षबीच आन्तरिक तयारी भइरहेको थियो । तर, लिपुलेक क्षेत्रलाई लिएर नेपाल–भारतबीच पुनः चर्किएको संवेदनशील विवादका कारण भ्रमण स्थगित भएको स्रोतहरूको दाबी छ ।

Advertisement

स्रोतका अनुसार सीमा विवादको विषयमा दुवै देश आआफ्नो अडानमा कायम रहेका बेला उच्चस्तरीय कूटनीतिक भ्रमण उपयुक्त नठानिएको हो । यही कारण भ्रमणले गलत सन्देश जाने जोखिम देखिएको बताइन्छ ।

यता परराष्ट्र मन्त्रालयले भने सीमा विवाद र भ्रमण स्थगनबीच प्रत्यक्ष सम्बन्ध नरहेको प्रतिक्रिया दिएको छ । नेपाल–भारत सम्बन्ध गहिरो र स्थिर रहेको उल्लेख गर्दै नियमित कूटनीतिक सम्पर्कमा कुनै अवरोध नआएको दाबी मन्त्रालयले गरेको हो ।

पूर्वराजदूत तथा कूटनीतिक जानकारहरूले भने यस्तो भ्रमण स्थगित हुनु सकारात्मक नभएको टिप्पणी गरेका छन् । उनीहरूका अनुसार दुई देशबीच निरन्तर संवाद र उच्चस्तरीय भेटघाट आवश्यक हुन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.