फाइल फाेटाेविराटनगर । मोरङको रंगेली नगरपालिका–४ चोप्रहामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । शनिबार बेलुका चोप्रहास्थित गणेश माध्यमिक विद्यालय नजिकैको भित्री पक्की सडक खण्डमा भएको दुर्घटनामा स्थानीय ७३ वर्षीया कलियादेवी मण्डलको मृत्यु भएको हो ।
चोप्रहाबाट रंगेलीतर्फ जाँदै गरेको प्र१–०४–००३प ००२१ नम्बरको १६० सीसीको टीभीएस मोटरसाइकलले बाटो काट्दै गरेकी मण्डललाई ठक्कर दिएको थियो । ठक्करबाट मण्डलको दाहिने खुट्टा र हातमा चोट लागेको थियो । दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–२ बस्ने २९ वर्षीय आर्यण राजवंशी पनि घाइते भएका थिए । उनको हात, खुट्टा र अनुहारमा चोट लागेको छ ।
दुर्घटनालगत्तै दुवै घाइतेहरूलाई उपचारका लागि रंगेली अस्पताल पुर्याइएको थियो । मण्डलको अवस्था जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएको थियो । न्युरो अस्पतालमा उपचारकै क्रममा राति मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । पैदलयात्रीले बाटो काट्ने क्रममा अचानक दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएकाे छ ।

























