
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध ‘रेड नोटिस’ जारी गर्ने प्रक्रिया सुरु भएको छ। इन्टरपोलले थप कागजात मागेपछि प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) ले आवश्यक विवरण पठाएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले गत २४ चैतमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएलगत्तै उनीहरूलाई नेपाल ल्याउन एनसीबीले इन्टरपोललाई औपचारिक पत्राचार गरेको थियो। इन्टरपोलले केही कागजात अपुग भएको भन्दै इमेल गरेपछि हालै थप विवरण पठाइएको प्रहरी स्रोतले बताएको छ।
निर्वाचनको पूर्वसन्ध्यामा गत १४ फागुनमा उपचारका लागि भन्दै सिंगापुर उडेका देउवा दम्पती त्यसयता नेपाल फर्केका छैनन्। उनीहरू सिंगापुरबाट ७ चैतमा हङकङ गएको र हाल उतै रहेको बताइएको छ। यसअघि जेनजी आन्दोलनका बेला पनि उपचारकै लागि सिंगापुर गएका उनीहरू त्यतिबेला भने स्वदेश फर्केका थिए।
इन्टरपोलले रेड नोटिस जारी गरेमा यसका १९६ सदस्य राष्ट्रहरूले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन्। पक्राउ परेको खण्डमा कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई नेपाल ल्याउने बाटो खुल्नेछ।



















