जघन्य अपराधमा संलग्नलाई कडा सजाय गर्न कानुन संशोधन गरिँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २७, आइतबार ११:४६

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले जबरजस्ती करणी, यौनजन्य हिंसा र बालबालिका सम्बन्धी जघन्य अपराधमा संलग्नहरूलाई कडा दण्ड सुनिश्चित गर्न कानुनी संशोधनको प्रक्रिया अगाडि बढेको बताएकी छन्। मन्त्री गौतमले सामाजिक सञ्जालमार्फत बलात्कार र बलात्कारपछि हुने हत्या जस्ता गम्भीर कसुरमा पीडितलाई शीघ्र न्याय दिन सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्।

उनका अनुसार अपराध संहिता लगायतका विद्यमान कानुनमा देखिएका कानुनी अवरोध र छिद्रहरू पहिचान गर्न गठन गरिएको अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन पेस गरिसकेको छ। कानुनका कमजोरीको फाइदा उठाएर दोषी उम्कन नपाऊन् भन्नका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको उनले बताइन्।

Advertisement

मन्त्री गौतमले उक्त प्रतिवेदनका सुझावहरूलाई आधार मानेर संसद्को आगामी अधिवेशनमा संशोधन विधेयक पेस गरिने जानकारी दिएकी छन्। यस संशोधनले जघन्य अपराधका दोषीलाई कानुनी कठघरामा ल्याउन र कडा सजाय दिलाउन मद्दत पुग्ने विश्वास लिइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.