
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू राजनीतिमा जीवनी लेख्न नभई इतिहास लेख्न होमिएको बताएका छन् ।
पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
आफू मन्त्री र प्रधानमन्त्री बन्न मात्र नभएर देशको इतिहास बदल्न आएको उनले स्पष्ट पारे । ‘कसैलाई मन्त्री वा प्रधानमन्त्री बन्ने उद्देश्यले मात्र लागेको लाग्छ भने त्यो भ्रम हो,’ लामिछानेले भने, ‘मलाई जीवनी लेख्ने रुचि छैन, बरु इतिहास लेख्न हिँडेको हुँ ।’
उनले पार्टीका सांसदहरूलाई पनि व्यक्तिगत जीवनी लेख्ने यात्रामा नलाग्न सुझाव दिए । रास्वपाले निर्वाचनमा पाएको मत इतिहास लेख्ने अध्यायको सुरुवात भएको उल्लेख गर्दै उनले पुराना राजनीतिक दलहरूको तुलनामा रास्वपा सजिलो सङ्घर्षबाट उदाएको बताए । पुराना दलहरूले राजनीतिक परिवर्तनका लागि जस्तो दुःख भोगे, रास्वपाले त्यति धेरै सङ्घर्ष गर्नु नपरेको र भविष्यमा पनि गर्नु नपर्ने उनको भनाइ छ ।
सभापति लामिछानेले अबको पाँच वर्ष पार्टीले नतिजा आउने गरी काम गर्नुपर्नेमा जोड दिए । कतिपय साथीहरूले योगदानको मूल्य खोज्दै ढोका ढकढक्याउने गरेको भन्दै उनले अहिले नै आफ्नो योगदानको मूल्य माग्ने बेला नभएको बताए । समिति सभापति नपाएको वा मन्त्री नभएको जस्ता गुनासो छोडेर सांसदहरूलाई कानुन निर्माणको मुख्य जिम्मेवारीमा केन्द्रित हुन उनले आग्रह गरे ।

























