
धनगढी । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले मदिरा सेवन (मापसे) गरेर गाडी चलाएका कारण दुर्घटना भएको खुलेको छ । मापसे गरेर गाडी चलाएको पाइएपछि प्रहरीले मेयर भट्टलाई जरिबाना तिराएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मेयर भट्टलाई मापसे गरेर गाडी चलाएकोमा ५ सय र लापरबाही गरेकोमा थप ५ सय गरी जम्मा १ हजार रुपैयाँ जरिबाना तिराएको हो । ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर रेशम आचार्यले जरिबाना तिराएपछि गाडी छाडिएको जानकारी दिए ।
भट्टले आफन्त मार्फत जरिबाना तिरेपछि कैलाली गाउँ प्रहरी चौकीले नियन्त्रणमा रहेको गाडी कागज गरेर छाडेको छ । शनिबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डको गेटामा भट्टले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको सरकारी गाडी अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किएको थियो ।
दुर्घटनामा मानवीय क्षति नभए पनि गाडीको अगाडिको भागमा क्षति पुगेको छ । घटना लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । राति नै मापसे परीक्षण गर्न नपाए पनि मेयर स्वयंले मदिरा सेवन गरेर गाडी चलाएको स्वीकार गरेपछि जरिबाना गरिएको प्रहरीले जनाएको छ ।



















