चित्रकलाबाट जलवायु परिवर्तनको जोखिम र अपाङ्गता भएका व्यक्तिको समस्या उजागर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २७, आइतबार १६:२०

काठमाडौं । जलवायु परिवर्तनले अपाङ्गता भएका व्यक्तिहरूलाई पार्ने प्रभाव र यसबारे सचेतना जगाउने उद्देश्यले ललितपुरको पाटन दरबार स्क्वायरमा चित्रकला कार्यक्रम आयोजना गरिएको छ । नेपाल आदिवासी अपाङ्ग महिला संघ (निडवान) को आयोजनामा भएको यस कार्यक्रममा एक दर्जनभन्दा बढी कलाकारहरूले चित्रमार्फत जलवायु परिवर्तनका जोखिमलाई प्रस्तुत गरे ।

‘समावेशीकरणको कलाः जलवायु परिवर्तन अपाङ्ग भएका विविध व्यक्तिहरूको अनुभवमा पुनः आकार’ नारा दिइएको सो कार्यक्रममा कलाकारहरूले आफ्ना कलामार्फत अपाङ्गता भएका व्यक्तिहरूले भोग्नुपरेका चुनौतीलाई चित्रण गरे । कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ कलाकार केके कर्माचार्यले जलवायु परिवर्तनको मार सबैलाई पर्ने भए पनि अपाङ्गता भएका व्यक्तिहरू र विशेषगरी आदिवासी अपाङ्ग महिलाहरू बढी जोखिममा रहेको बताए । उनले समयमै सचेतना अपनाएर यस्तो जोखिम न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।

Advertisement

निडवानकी अध्यक्ष तथा सह-प्राध्यापक प्रतिमा गुरुङले बढ्दो जलवायु परिवर्तनले आदिवासी अपाङ्गता भएका व्यक्तिहरूमा कस्तो असर परिरहेको छ भन्ने कुरा बुझाउन र उनीहरूमा जागरण ल्याउन चित्रकलाको माध्यम रोजिएको बताइन् । जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम, हिउँ पग्लिएको अवस्था र प्राकृतिक विपत्तिले अपाङ्गता भएका व्यक्तिहरूको जीवन झनै कष्टकर बन्दै गएको तर्फ उनले ध्यानाकर्षण गराइन् ।

कार्यक्रममा सहभागी कलाकारहरू रिया विश्वकर्मा, मोनिका शाह, लक्ष्मीभक्त माथेमा, जनक जोशी, लक्ष्मी लामिछाने, मनोहर प्रजापति र विशाल थामी लगायतले आ-आफ्नो शैलीमा चित्रहरू कोरेका थिए । ती चित्रहरूमा मिथिला कलादेखि हिमाली भेगमा जलवायुले पारेको असरसम्मका विषय समेटिएका थिए । कलाकारहरूले पृथ्वी सबै प्राणीको साझा घर भएकाले प्रकृतिको संरक्षण गर्न र विपत्तिको समयमा अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष सहयोग पुर्‍याउन आवश्यक रहेको सन्देश कलामार्फत दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.