
सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा एक ट्रेकिङ गाइडको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबार बिहान सगरमाथा क्याम्प–१ क्षेत्रमा हाई अल्टिच्युडका कारण बिरामी परेपछि फर्किने क्रममा सोलुदुधकुण्ड नगरपालिका–७ गार्माका विजय घिमिरेको मृत्यु भएको हो । घिमिरे ट्रेक नेपाल कम्पनीमार्फत सगरमाथा आरोहण टोलीसँग खटिएका थिए ।
बिहान करिब ४ बजे उनलाई टाउको र पेट दुख्ने समस्या देखिएपछि तत्काल बेस क्याम्पतर्फ झार्न थालिएको थियो । उपचारका लागि फर्काइँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि शव अल्टिच्युड हेलिमार्फत लुक्ला ल्याइएको छ । घटनाको थप कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।



















