सरसफाइ सप्ताह सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २८, सोमबार ०७:२७

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यसहित आज (सोमबार)देखि देशभर ‘सरसफाइ सप्ताह, २०८३’ सुरु गरेको छ ।

सप्ताह जेठ १ गतेसम्म सञ्चालन हुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विशेष मार्गदर्शनअनुसार संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिइएको छ ।

Advertisement

अभियानको औपचारिक उद्घाटन वीर अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताको उपस्थितिमा गरिने छ । मार्गदर्शनले सरकारी कार्यालयहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड लागू गर्ने लक्ष्य लिएको छ ।

कार्यालयमा सूचना बोर्ड, नागरिक वडापत्र र संकेत चिन्ह व्यवस्थित राख्ने, भित्ताको मर्मत तथा रंगरोगन गर्ने, प्रवेशद्वार र सेवा क्षेत्र सफा राख्ने व्यवस्था मिलाइनेछ । सबै शौचालयलाई दुर्गन्धरहित बनाई नियमित पानी, साबुनसहितको हातधुने सुविधा अनिवार्य गरिएको छ भने महिला तथा अपांगतामैत्री संरचना बनाउनुपर्नेछ ।

फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर छुट्याउने दुई प्रकारका डस्टबिन राखिने, खुला फोहोर जलाउने कार्य पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ । कार्यालय परिसर वरिपरि १०० मिटर क्षेत्र, नाली, ढल, पार्किङ र पोस्टर व्यवस्थापन पनि सफा राख्नुपर्नेछ ।

हरेक कार्यालयले सरसफाइ सम्पर्क व्यक्ति तोक्ने, साप्ताहिक कार्यतालिका बनाउने र मासिक स्वमूल्यांकन गर्ने व्यवस्था गरिएको छ । अभियानको कार्यान्वयन र अनुगमनको जिम्मेवारी सम्बन्धित निकाय प्रमुखलाई दिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.