
काठमाडौं । देशका विभिन्न क्षेत्रमा आज (मंगलबार) चट्याङसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव कायम छ ।
यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य प्रदेशमा आंशिक बदली देखिएको छ । बागमती, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
मंगलबार दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
अन्य पहाडी भू–भागका थोरै स्थान तथा तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।
राति पनि मौसम पूर्ण रूपमा सुधार नहुने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
बाँकी पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । मौसमविद्ले चट्याङ, वर्षा र खराब मौसमका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।
























