
भोजपुर । भोजपुरमा उपचारका लागि अस्पताल लैजाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेर चार महिनाका शिशुको मृत्यु भएको छ । आमा घाइते भएकी छन् ।
बाबुआमाले उपचारका लागि लिएर जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–१० भैंसीपंखामा सोमबार दिउँसो करिब ३ः२० बजेतिर दुर्घटना भएको हो ।
भोजपुर–१० लुङलाकिमका ३० वर्षीय सुमन श्रेष्ठ प्र १–०२–०५१ प १२१२ नम्बरको मोटरसाइकलमा श्रीमती र चार महिनाका छोरालाई लिएर स्वास्थ्य चौकी भैंसीपंखातिर जाँदै थिए । उनले चलाइरहेको मोटरसाइकल अचानक अनियन्त्रित भई सडकमा दुर्घटनामा परेको पाइएको भोजपुर प्रहरीका सूचना अधिकारी, इन्स्पेक्टर महेन्द्र पराजुलीले बताए ।
उनका अनुसार दुर्घटनामा परेर शिशु गम्भीर घाइते भएका थिए । तत्कालै उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर पुर्याइए पनि करिब ३ः४५ बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएको जानकारी इन्स्पेक्टर पराजुलीले दिए ।
मोटरसाइकल चालक सुमन श्रेष्ठ सकुशल रहेका छन् । उनकी श्रीमती अचेत अवस्थामा रहेको र जिल्ला अस्पताल भोजपुरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यान्त्रिक गडबडी (ब्रेक फेल)का कारण दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
























