
काठमाडौं । देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायमै रहेको छ । जसका कारण आज (बुधबार) विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली भएको छ । कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्का एवं मध्यम वर्षासमेत भइरहेको छ ।
कोशी प्रदेशमा राजधानी विराटनगरसहित विभिन्न स्थानमा मध्यम वर्षा जारी छ । महाशाखाले बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
मधेश प्रदेशका थोरै स्थान तथा अन्य हिमाली र पहाडी भू–भागका केही क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेशका केही पहाडी र तराई जिल्लामा हावाहुरी, असिना तथा चट्याङको जोखिमसमेत रहेको महाशाखाले जनाएको छ । राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बदली रहने तथा केही स्थानमा वर्षा हुने सम्भावना छ ।
मौसमविद्ले चट्याङ र हावाहुरीको जोखिम रहने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।


















