
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक बुधबार तीन पटकसम्म स्थगित भएको छ ।
विपक्षी सांसदहरूले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले नै टेबुल गर्नुपर्ने र छलफलमा उनको अनिवार्य सहभागिता हुनुपर्ने अडान राखेका थिए । सभामुख डोलप्रसाद अर्यालले भने कुनै पनि सांसद वा प्रधानमन्त्रीलाई बैठकमा उपस्थितिका लागि कार्यतालिका तोक्ने कानुनी अधिकार आफूसँग नभएको स्पष्ट पारेका छन् ।
बैठककै क्रममा नेकपा एमालेका सांसद गुरु बरालले प्रधानमन्त्रीविना पनि सदन चल्न सक्ने भनिएको नियमावलीको बुँदा रहेको स्थानमा खाली पाना देखाएर विरोध जनाएका थिए ।
यस्तै, एमालेले आफ्ना नेता रामबहादुर थापाले प्रयोग गरेका ‘अराजकहरूको भीड’ र ‘नेपाली सेना मूकदर्शक’ जस्ता शब्दहरू संसद्को रेकर्डबाट हटाइएको विषयमा सभामुखसँग स्पष्टीकरण मागेको छ ।
अर्कोतर्फ, राष्ट्रिय सभामा भने प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् । प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजेका लागि तय गरिएको छ ।

























