निर्माण सामग्रीको मूल्यवृद्धिले काम ठप्प, निर्माण व्यवसायीले देशभर ज्ञापनपत्र बुझाउँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३१, बिहीबार ०७:५३
फाइल फोटो

विराटनगर । निर्माण क्षेत्र संकटमा परेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आज (बिहीबार) देशभर ज्ञापनपत्र बुझाउँदैछ ।

मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, बिटुमिन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा लगातार भइरहेको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र संकटमा परेर विकास निर्माण नै ठप्प भएपछि महासंघले यसअघि नै देशभर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनअन्तर्गत ज्ञापनपत्र बुझाउन लागिएको हो । ज्ञापनपत्र बुझाएपछि जिल्ला प्रशासन कार्यालयमा धर्ना पनि दिइने छ ।

Advertisement

निर्माण क्षेत्रले मूल्यवृद्धि र अभावको सामना गरिरहँदा सरकारले भने कुनै वास्ता गरेको छैन । महासंघले निर्माणसँग सम्बन्धित कार्य बन्द गरिएको जानकारी गराउँदै संघीय, प्रदेश र जिल्ला तहमा ज्ञापनपत्र बुझाउने तथा धर्ना दिने कार्यक्रम गत मंगलबार नै सार्वजनिक गरिसकेको छ ।

कार्यक्रमअन्तर्गत आज (बिहीबार) जिल्ला निर्माण व्यवसायी संघको अगुवाइमा निर्माण व्यवसायीहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै आधा घण्टा धर्ना दिने छन् । त्यस्तै, जेठ १ गते शुक्रबार र जेठ ४ गते सोमबार जिल्लास्थित पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, सहरी विकास तथा भवन कार्यालय र सिँचाइ कार्यालयहरूमा ज्ञापनपत्र बझुाएर आधा घण्टा धर्ना दिइने छ ।

त्यसैगरी, प्रदेश निर्माण व्यवसायी महासंघहरूले जेठ १ गते शुक्रबार सम्बन्धित प्रदेशका मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउने तथा आधा घण्टा धर्ना दिने कार्यक्रम तय गरिएको छ । महासंघका महासचिव शिवहरि घिमिरेले जारी गरेको परिपत्रअनुसार निर्माण उद्योगमा प्रयोग हुने पेट्रोलियम पदार्थ, बिटुमिन, फलामजन्य सामग्री, सिमेन्ट, ढुवानी तथा श्रमिकको पारिश्रमिकमा पटकपटक भइरहेको अप्रत्याशित मूल्यवृद्धिका कारण निर्माण व्यवसाय सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको उल्लेख छ ।

महासंघले यस्तो परिस्थितिमा सरकारबाट आवश्यक सम्बोधन नभएकाले निर्माण कार्य बन्द गर्न बाध्य हुनु परेको उल्लेख गरेको छ । महासंघले सबै प्रदेश निर्माण व्यवसायी महासंघ तथा जिल्ला निर्माण व्यवसायी संघलाई आन्दोलनका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

निर्माण सामग्री तथा इन्धनको मूल्य अस्वाभाविक रूपमा बढ्दा ठेक्का सम्झौताअनुसार काम सम्पन्न गर्न असम्भवजस्तै भएको महासंघ कोशीका वरिष्ठ उपाध्यक्ष केशरकुमार बुढाथोकीले बताए । उनका अनुसार लागत मूल्य अत्यधिक बढे पनि पुरानै दररेटमा काम गर्नुपर्ने अवस्था कायम रहेकाले निर्माण व्यवसाय क्षेत्र आर्थिक संकटमा परेको छ ।

निर्माण व्यवसायीहरूले सरकारले तत्काल मूल्य समायोजन, निर्माण लागत पुनरावलोकन तथा व्यवसायीमैत्री नीतिगत व्यवस्था नगरे थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.