
काठमाडौं । यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग औपचारिक रूपमा खुला गरिएको छ । आधार शिविरदेखि चुचुरोसम्म डोरी टाँग्ने कार्य पूरा भएसँगै आरोहण गतिविधि सुरु हुने बाटो खुलेको पर्यटन विभागले जनाएको छ ।
पर्यटन विभागका अनुसार बुधबार दिउँसो १ः२५ बजे सगरमाथा आधार शिविरदेखि शिखरसम्मको सम्पूर्ण मार्गमा डोरी टाँग्ने काम सम्पन्न गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनअनुसार सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग संघ नेपालले यस कार्यको जिम्मेवारी पूरा गरेका हुन् ।
यस कार्यमा खुम्बु आइसफल क्षेत्रदेखि क्याम्प–२ सम्म आठ जना आइसफल डाक्टरहरू खटिएका थिए । क्याम्प–२ देखि चुचुरोसम्म ११ जना अनुभवी पथप्रदर्शकहरूले जोखिमपूर्ण भागमा डोरी टाँग्ने काम सम्पन्न गरेका छन् ।
पर्यटन विभागले आरोहण मार्ग सुरक्षित बनाउन योगदान दिने सम्पूर्ण टोलीप्रति कृतज्ञता व्यक्त गरेको छ । सगरमाथा आरोहण मार्ग प्रत्येक वर्ष वसन्त ऋतु सुरु हुनुअघि मर्मत गरेर सुरक्षित बनाइन्छ ।
मार्ग खुला भएसँगै अब विभिन्न देशका आरोहीहरू सगरमाथा आरोहणका लागि तयारीमा जुट्ने छन् । यसले खुम्बु क्षेत्रमा पर्यटक आगमन बढ्ने र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने छ ।



















