प्रधानमन्त्री बालेन नबोल्ने, अर्थमन्त्रीले दिनेछन् जवाफ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३१, बिहीबार ११:०८

काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नदिने भएका छन् ।

प्रतिनिधिसभाको आज (बिहीबार)को बैठकमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची तय गरिएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षी दलहरूले बुधबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका थिए ।

Advertisement

उनीहरूले नीति तथा कार्यक्रममाथिको छलफल र जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने माग राख्दै नाराबाजी गरेका थिए । सभामुखसँग पटकपटक रुलिङको माग गरे पनि प्रधानमन्त्रीको कार्यतालिकाबारे आफूलाई जानकारी नभएको भन्दै सभामुखले त्यस्तो रुलिङ गर्न नसक्ने बताएका थिए ।

विपक्षीको अवरोधपछि बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको थियो । आजको बैठकमा अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पनि प्रस्तुत हुनेछन् । साथै, नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.