
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभए विरोधका कार्यक्रम जारी राख्ने चेतावनी दिएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्रीको अनुपस्थितिलाई संसदीय व्यवस्थाप्रतिको उदासिनताको रूपमा टिप्पणी गरे।
सचेतक राईले सभामुख डोलप्रसाद अर्याललाई संसद्को अभिभावक र संरक्षकको रूपमा प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन विशेष भूमिका खेल्न आग्रह गरे।
प्रधानमन्त्रीले सदनजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुखद भएको र सत्तापक्षले यसलाई सामान्य बनाउन खोज्नु झनै चिन्ताजनक रहेको उनले बताए।
‘सदनलाई विश्वविद्यालय र गुरुकुलजस्तै मान्नुपर्छ, तर प्रधानमन्त्रीले यसलाई ‘बंक’ गर्न थाल्नुभएको छ,’ राईले भने।
संसद्को कार्यसूची र छलफलहरूमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने अडान राख्दै कांग्रेसले प्रधानमन्त्री नआएसम्म आफ्नो विरोध नरोकिने स्पष्ट पारेको छ।



















