
काठमाडौं । देशभर आज (शुक्रबार) मौसम बदली भई सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी र स्थानीय वायुका साथै नेपाल आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको हो । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ ।
तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने महाशाखाको अनुमान छ । तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा पनि मौसम पूर्ण रूपमा नखुल्ने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना कायम रहनेछ भने कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

























