
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ निक्षेप खिच्दैछ। वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि ४२ दिनका लागि राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत उक्त रकम खिच्न लागेको हो।
हाल कुल निक्षेप साढे ७७ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। केन्द्रीय बैंकले प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत निरन्तर तरलता व्यवस्थापन गर्दै आएको छ।
यस बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेको ब्याजदरका आधारमा सबैभन्दा कम दर बोल गर्नेलाई प्राथमिकता दिइनेछ।
निक्षेप चुलिएपछि आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको हो। यसको ब्याजदर पनि बोलकबोलको माध्यमबाटै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ। आज सङ्कलन गरिने निक्षेपको सावाँ तथा ब्याज २०८३ असार १२ गते भुक्तानी गरिनेछ।
इच्छुक संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोल गर्न सक्नेछन्। केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन गर्न ६ महिनासम्मको निक्षेप सङ्कलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। सोही कानुनी व्यवस्थाका आधारमा राष्ट्र बैंकले पटक–पटक यस्तो उपकरण प्रयोग गर्दै आएको छ।

























