महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १, शुक्रबार १२:४८

काठमाडौं। महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ। नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम महालेखा परीक्षक तोयम रायाले आज शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहका बीच उक्त प्रतिवेदन पेस गरे।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मुलुकमा वित्तीय अनुशासन कायम गर्न र आर्थिक पारदर्शीता बढाउन महालेखा परीक्षकको कार्यालयको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले राज्यकोषको परिचालन गर्ने हरेक निकाय र पदाधिकारी थप जिम्मेवार तथा जवाफदेही बन्नुपर्नेमा जोड दिए।

वार्षिक रूपमा बेरुजुको आकार बढ्दै जानु सुशासनका लागि चुनौती भएको भन्दै राष्ट्रपति पौडेलले आर्थिक अनुशासन पालना गराउन र कानुनको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण गराए।

प्रतिवेदन पेस गर्ने क्रममा महालेखा परीक्षक रायाले सरकारी निकाय, संगठित संस्था र स्थानीय तहहरूको लेखापरीक्षणबाट देखिएका मुख्य त्रुटि, बेरुजुको अवस्था र वित्तीय सुधारका लागि चालिनुपर्ने कदमहरूका बारेमा संक्षिप्त जानकारी गराए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.