मार्टर्स मेमोरियल कलेजको प्रिन्सिपलमा सिएम श्रेष्ठ नियुक्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १, शुक्रबार २०:३५
मार्टर्स मेमोरियल कलेजको प्रिन्सिपलमा सिएम श्रेष्ठ नियुक्त

विराटनगर । विराटनगरको मार्टर्स मेमोरियल कलेजको प्रिन्सिपलमा सिएम श्रेष्ठ नियुक्त भएका छन् । मार्टर्स मेमोरियल फाउन्डेसनले लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहेका श्रेष्ठलाई प्रिन्सिपलको जिम्मेवारी सुम्पिएको हो ।

आधुनिक भौतिक पूर्वाधारसहित यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आउन लागेको कलेजले श्रेष्ठलाई प्रिन्सिपलमा नियुक्त गरेको । पदस्थापन कार्यक्रममा बोल्दै नवनियुक्त प्रिन्सिपल श्रेष्ठले गुणस्तरीय शिक्षा प्रदान गरी मुलुकका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नु आफ्नो मुख्य लक्ष्य रहने बताए । विश्वास गरेर यो महत्त्वपूर्ण जिम्मेवारी दिएको प्रति फाउन्डेसनलाई आभार व्यक्त गर्दै, उनले भने, ‘हामी विद्यार्थीलाई भयरहित र प्रविधिमैत्री वातावरणमा उत्कृष्ट शिक्षा दिने छौँ ।’

Advertisement

उनले मार्टर्सले अन्य कलेजले लिए जस्तो प्रवेश परीक्षा (इन्ट्रान्स) नलिने बताए । विद्यार्थीले एसइई मा प्राप्त गरेको नतिजा नै उनीहरूको क्षमताको मापन भएको र त्यसैले हामीले थप प्रवेश परीक्षाको बोझ नदिई एसइईको नतिजाका आधारमा भर्ना लिने छौँ, श्रेष्ठले भने ।

कलेजको विज्ञान संकायका संयोजकमा किरण दासलाई नियुक्त गरिएको छ । कलेज सञ्चालक समितिको अध्यक्षमा प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोल रहेका छन् ।

यस कलेजलाई विराटनगरकै नमुना शैक्षिक संस्था बनाउने लक्ष्य राखिएको बताइएको छ । विराटनगरलाई शैक्षिक ‘हब’ का रूपमा विकास गर्ने संकल्पका साथ करिब ७ करोड रुपैयाँको लगानीमा कलेज सञ्चालनमा ल्याइएको कलेज प्रशासनले जनाएको छ । स्मार्ट कक्षा कोठा र आधुनिक प्रयोगशालाको सुविधा रहेको कलेजको कक्षा कोठा पूर्ण रूपमा वातानुकूलित रहेको बताइएको छ ।

गुणस्तरीय र प्रविधिमैत्री शिक्षाको माध्यमबाट विराटनगरको शैक्षिक गरिमालाई थप उचाइमा पुर्‍याउने विश्वास सञ्चालक समितिले व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.