
काठमाडौं।वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले नेपालको वर्तमान संविधान, न्यायपालिका र राजनीतिक दलहरूको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। संविधान निर्माणमा संलग्न शक्तिहरूले नै यसलाई क्षतविक्षत पार्ने प्रयास गरेको उनको टिप्पणी छ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता भट्टराईले प्रतिनिधिसभाको पहिलो र दोस्रो विघटनबाट संविधानलाई ‘डिरेल’ गर्ने र यसको ‘चीरहरण’ गर्ने कार्य प्रारम्भ भएको बताए।
विगतका विघटनका समयमा नागरिक र दलहरू सडकमा उत्रिएको तथा अदालतले संविधानलाई सही मार्गमा ल्याएको स्मरण गर्दै उनले अहिलेको अवस्था भने फरक रहेको जिकिर गरे। दैनिक रूपमा बहसका लागि अदालत पुग्ने कानुन व्यवसायी भएर पनि यस्तो भन्नुपर्दा आफू दुःखी रहेको उनले बताए। भट्टराईले राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र समाप्त हुँदा नागरिक स्वतन्त्रतामा ठुलो धक्का लागेको उल्लेख गरे।
अदालतको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै भट्टराईले विगतमा अदालतले दुवै पटक संविधानलाई ट्र्याकमा ल्याइदिएको भए पनि अहिले अदालतमा त्यो हिम्मत नभएको महसुस हुन थालेको बताए। अदालत संविधानको मर्मअनुसार चल्न नसक्ने अवस्थामा पुगेको र पछिल्ला घटनाक्रमले न्यायालय भय र त्रासको भरमा टिकेको भान हुने उनको भनाइ छ। अहिलेका राजनीतिक दलहरू प्राइभेट लिमिटेड कम्पनी (प्रालि) जस्ता भएको र तिनलाई प्रतिरोध गर्ने क्षमता कसैमा पनि नदेखिएको उनले टिप्पणी गरे।
दलहरू विचार र सामूहिक निर्णयका आधारमा चल्न छोडेको आरोप लगाउँदै उनले दलहरूमा आन्तरिक लोकतन्त्रको अभाव र न्यायालयको कमजोर उपस्थितिले गर्दा आगामी दिनहरू थप चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेका छन्।

























