
विराटनगर । विराटनगरको एभरेस्ट सेकेन्डरी स्कुलले २०८२ सालको एसइई परीक्षामा उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका विद्यार्थी र उनीहरूका अभिभावकलाई एक समारोहका बीच अभिनन्दन गरेको छ ।
विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूको सफलताको खुसीयाली साटासाट गर्दै उनीहरूलाई सम्मान पत्र र खादाले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय समितिका प्रमुख शालिग्राम दाहाल र विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले विद्यार्थीहरूलाई अभिनन्दन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले एभरेस्ट स्कुलको शैक्षिक वातावरण जिल्लामै उदाहरणीय रहेको बताए । उनले भने, ‘विद्यालयको राम्रो वातावरण, विद्यार्थीको अथक मेहनत, अभिभावकको निरन्तर चासो र शिक्षकहरूको सिकाउने कला– यी चारै कुराको उत्कृष्ट संगम नै एभरेस्टको सफलताको कडी हो ।’ उनले शतप्रतिशत नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना समेत दिए ।
विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले अब एभरेस्ट जिपिएको गणितीय दौडमा मात्र सीमित नरहेको स्पष्ट पारे । उनले भने, ‘हामीले एभरेस्टलाई एउटा ब्रान्ड बनाइसकेका छौँ, त्यसैले अब हामी जिपिएको मात्र पछि दौडिँदैनौँ । हाम्रा विद्यार्थी पढाइमा मात्र होइन, अनुशासन, अन्वेषण र प्रस्तुतीकरणमा पनि विश्व स्तरमा अब्बल छन् ।’
पुरीले विद्यालयले यसै वर्षदेखि काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा ब्याचलर इन एप्लाइड इन्फरमेसन टेक्नोलोजी कोर्ससमेत सञ्चालन गर्न लागेको जानकारी दिए । उनले विद्यार्थीहरूलाई कक्षा ११ र १२ लाई विश्वविद्यालय प्रवेशको पूर्व तयारीका रूपमा लिँदै आफ्नै विद्यालयमा अध्ययनलाई निरन्तरता दिन आग्रह गरे ।
विद्यालयका भाइस प्रिन्सिपल टी एन भण्डारीले विद्यालयको गौरवमय नतिजाबारे जानकारी गराए । यस वर्ष एभरेस्टबाट परीक्षामा सहभागी भएका १९३ जना विद्यार्थीमध्ये सबै जना शतप्रतिशत सफल भएका छन् ।
नतिजाको संक्षिप्त झलक
३.९५ देखि ४.०० जिपिए १९ जना
३.९१ देखि ३.९२ जिपिए २० जना
३.८० देखि ३.८८ जिपिए ५१ जना
३.७० देखि ३.७९ जिपिए ६३ जना
३.६३ देखि ३.६९ जिपिए २३ जना
३.२५ देखि ३.६० जिपिए १७ जना
सबै विद्यार्थीले ३.२५ भन्दा माथि जिपिए ल्याउनुले विद्यालयको शैक्षिक गुणस्तर थप प्रमाणित भएको भण्डारीले बताए । कार्यक्रममा विद्यार्थीहरूले आफ्नो सफलताको श्रेय विद्यालयको शिक्षण पद्धति र अभिभावकको साथलाई दिएका थिए ।

























