इजरायली हवाई आक्रमणमा हमासका वरिष्ठ कमाण्डरको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३, आइतबार ०७:००

एजेन्सी । गाजा सिटीमा भएको इजरायली हवाई आक्रमणमा हमासका सैन्य शाखाका शीर्ष कमाण्डर इज अद–दिन अल–हदादको मृत्यु भएको हमासले पुष्टि गरेको छ ।

बीबीसीलाई उद्धृत गर्दै हमासका एक अधिकारीले शुक्रबार गाजा सहरको केन्द्र क्षेत्रमा भएको आक्रमणमा उनको ज्यान गएको जानकारी दिएका हुन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले संयुक्त विज्ञप्ति जारी गर्दै हदादलाई सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका प्रमुख योजनाकारमध्ये एक भएको आरोप लगाएका छन् ।

Advertisement

इजरायलका अनुसार उनी हजारौँ इजरायली नागरिक तथा सैनिकको हत्या र अपहरणमा संलग्न थिए । प्रत्यक्षदर्शीहरूले बताएअनुसार गाजा सिटीको अल–मुताजा नामक आवासीय भवनलाई लक्षित गर्दै दुई दिशाबाट तीनवटा मिसाइल प्रहार गरिएको थियो ।

आक्रमणपछि भवनमा ठूलो आगलागी भएको र भग्नावशेषबाट गम्भीर घाइते अवस्थामा हदादलाई उद्धार गरिएको जनाइएको छ । उनलाई कारमार्फत सुरक्षित स्थानतर्फ लैजाने क्रममा करिब डेढ किलोमिटर टाढा पुनः अर्को आक्रमण भएको र त्यहीँ उनको मृत्यु भएको बताइएको छ ।

उद्धार टोलीहरुले घटनास्थलमा शव र घाइतेहरूको उद्धारमा कठिनाइ भोग्नुपरेको जनाइएको छ । यसबीच युद्धविरामको घोषणा भए पनि गाजामा आक्रमण जारी रहेको आरोप हमासले लगाएको छ । इजरायलले पनि आफ्ना लक्षित कारबाहीहरू जारी रहने स्पष्ट पारेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.